यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

मूल्याहा छोरी (कथा)



बाईस बर्ष बितिसकेको थियो हुकुली संग टाढिएको पनि । उसकी आमा संग टाढिएको चाहिँ १५ बर्ष मात्र भएको थियो । उनलाई म बाट दैवले नै हरेर लग्यो । फरासिलाहरुले आफुलाई टिकाएर राख्न सक्दैनन् र
भरासिलाहरुलाई दैवले टिक्न दिँदैनन् भन्थे, शायद म माथि पनि त्यहि नियती लादिएको हुनसक्छ । मेरो लागि सीता भरलाग्दी भरासिली थिइन् । त्यहि भएर त होला नि हुकुलीकी आमालाई दैवले बाँची खान नदिएको । मर्नु अघि सीताले लामो रोग पालेर मलाई त्यति धेरै पिरोलेर मरेकी पनि होइन । बरु मरिसकेपछि जूनी जूनीको लागि मलाई मरेतुल्य पारेर संतापमा जिउँदै मारेर गएकी थिइन् । उनी मरेको १३ दिनपछि कुरुवाहरु फुतुफुतु उठेर आआफ्नो घर र ठाउँतिर गएपछि बाँकी एकांकी जिवन भुतुक्क र लुतुक्क हुँदै एक्लै बाँच्नुको पिडा समन गरेर बाँचेको नाटक गरेर पलपल मरेर बाँचिरहेको थिएँ ।

मलाई औधि पिडा थियो सीताको चुराको आवाजले सजिन नपाएको त्यो भूताहा घरको र निरभ्रतामा बाँच्नु परेको अर्थहीन ऐकान्तिक जीन्दगीको । पिडा थियो उनको बुई चढेर दिनहुँ आउने सीताको आङ्ग भन्दा दुई ज्यान ठूलो कुट्मिराको डाले घाँसको भारी
बोकेर बंग्लङ्ग आँगनमा फ्याँक्दै निधारको पसिना पुछेको उनकै झलझल शाश्वत मोहोडा रसास्वदन अप्राप्तीको । महिनौँ सम्म उनको सेवा र सत्कार पाएर गद्गद् भएको लाहुरी भैँसी सीताको मृत्युसंगै म भन्दा चारगुना दूव्लो भएर हाडछाला टाँगिईसकेका थिए भने लाहुरीकी ५ महिने छोरी चाहिँ विस्याहार भएर लुतोले ग्रस्त भएर सीताको ४५ दिने कार्य सकिनु अघिनै मेरो अंशमा केहि पीर थपेर देहत्याग गरिसकेकी थिई । सीताको रिक्ततामा मेरो मुखमा हेरेर व्हाईंऽऽऽऽ गरेर लाहुरी भैँसीको भोको पेटले म प्रति उजुरी गर्दथ्यो । “के गर्छेस् लाहुरी ! म पनि त तँलाई स्याहार्ने तेरी मालिक्नी नभएपछि तँ जस्तै दुःखी र पिडित छु नि ।” बियाएको दिन देखि बियाउने महिना दिन अघि सम्म अविच्छिन्न दुध ख्वाएर  सेवा गर्ने त्यहि गुनिली अवोध लाहुरी भैँसीसंग मनमनै गथासो पोख्थेँ । लाहुरी र म मा मात्र यत्ति कुराको अन्तर थियो कि उ खान नपाएर दूव्लाएकी थिइ भने म सीता गुमाउनुपर्दाको पिडाले ख्याउटे र दुव्लो भएको थिएँ ।

सीता आफ्नो १६ बर्षे जवानीको भर्भराउँदो बैँस धौलागिरी हिमालको चीसो सिरेटो र कालीगण्डकीको पवित्र पानी संगै सिनित्त निखनेर हुर्किएकी पहाडकी छोरी थिई । मैले विहे गर्दा उसको जीउडाललाई देख्दा रोग व्याधी त के कालको तीन पुस्ते नै आएर झुत्ती खेलेपनि उनलाई केहि लछार्न नसक्ने जस्तो खाईलाग्दो र निरोगी अनुहारकी थिईन् । आखिर रोगले त्यसो भनेन । उनी मरीन्, आफु त मरेर गईन् गईन्, मलाई समेत जिउँदै चिन्ताको चितामा होमेर परलोक भईन् । छोटो समय बाँच्ने लेखान्त बोकेर आएकी रहिछन् र पो विहे गरेर ल्याएको दिन देखि नै सीताले मलाई होनहार माया गर्ने गरेकी रहिछन् । सीता मरेर त गर्ईन्, बुझ्ने भईसकेपछि पनि उनको अनुहार हेर्न नपाएकी आफ्नै सहोदर छोरी हुकुलीलाई एक खेप पनि भेट्न नपाईकन गईन् । उनको दुध खाँदै गरेको १४ महिने छोरोलाई पनि सीताको अनुहारको केहि हेक्का हुने कुरा भएन । मातृ रीत अनुसार छोरोलाई हुर्काएर लाठे पनि बनाउन नपाउँदै मरेर गएकी थिइन् सीता ।

छोरी हुकुली मूल्याहा परेको उद्घोष गर्दै एकाघरमा हुकुली बसेको खण्डमा कि बाउ टोक्ने छ कि आमा टोक्ने छ भन्दै कुसंस्कारको व्हीप जारी भएपछि केहि दिन सुँडेनीहरुको स्याहार सुसार पाएपछि उसकै मावलाबाट उसकी मावली हजुरआमाले हुर्काउने जिम्मा लिएर लगेपछि सीताको कोख रित्तिएसरी भयो । ज्योतिष शाश्त्रका ज्ञाताहरुले हुकुलीको मूल्याहा ग्रह गोचरको पुनः छानवीन गर्दा मूल्याहा ग्रहले आफ्ना सन्तानलाई पिर्ने अवधि समापन भएको बताएपनि अर्को ग्रहले घर पिर्न ठिक्क भएर हुकुलीको टाउको माथि फनफनी घुमेको ज्योतिषले बताएपछि छोरी हुकुलीलाई फेरि उसको मावलाबाट घर ल्याउने आशा तुहियो । ग्रह शान्ति गराएर आफ्नै घरमा ल्याउने तयारी गरेको बेलामा फेरि त्यहि अभागिनी छोरीको चिनामा दर्शित ग्रहको मारले हामी आमा बावुसंग उसको मेल हुन दिएन । १६ बर्षको उमेर नपुगुञ्जेल बाउ आमासंग बसी भने आफ्नै बाउ आमालाई पिर्ने छ भनेकै भरमा छोरी हुकुलीको हाम्रो घरमा सरौटी भई आउने सरुवापत्र १६ बर्ष सम्म ठाडो रोक्का भएको थियो । अर्थात् उसलाई फेरि मामा घरमा नै बस्नुपर्ने उसको ग्रहदशाले ठम्यायो । १६ बर्षको उमेरसम्म  राहु र केतु आभारी हुँदै हुकुलीलाई नछोड्ने भएको ज्योतिषले ठोकुवा गरेर भने पछि हाम्रो परिवारमा परेको दुःखको ठेक्काबाट हामीलाई पन्छिने साइत कहिलै जुरेन । हुकुलीको र उसको भाईको उमेरमा ६ बर्षको अन्तर थियो । अभागी कर्मकी विचरी मेरी छोरी हुकुली, चर्को ग्रह लिएरी आएकी रहिछे र पो उसले आफ्नै रगतहरुसंग उसलाई कहिल्यै मेल हुन दिएको थिएन ।

सीताको अवसानपछि आफ्नो भागमा बचेको एउटा टुहुरो छोरो पनि उसकै मावलामा लगेर छोडीदिने निश्चय गरेँ । एउटा भएको छोराको लालनपालन गर्न सक्ने सामथ्र्य म मा शुन्यप्राय भएको महसुस ठानेर नै ग्रहले नकरापेको आफ्नै रगतको डल्लो त्यो टुहुरो छोरोलाई पनि ग्रहदशा थपेर ससुरालीघर तिर पठाईदिएँ । म निरुपाय थिएँ । आफ्नो भनाउँदो सहोदर भाई राम्रै कमाउने विभागको जागीरे भएर अरगज्जे कमाईसकेपछि उसकी भाउजु मर्नु भन्दा पहिले नै काठमाण्डौँ तिर बसाईं सरेको थियो । भाईको पनि २ बर्ष सम्म जेनतेन चितवन र काठमाण्डौँ घर माइती आवत जावत चल्दै थियो । त्यसपछि उसले बाउको शेष पछिको दाई भनेर सम्झेर कहिल्यै चितवन फर्केर आएन । न त कहिलै फोन संवाद नै हुने गथ्र्यो । त्यसैकारणले पनि मैले आफ्नो त्यो नाबालक टुहुरो छोरोलाई भाईबुहारीको पोल्टामा सुम्पने आँट गर्न सकिन । छोरीको फरियाको टालो सम्झेर बरु ति टुहुरा छोराछोरीहरुले मावलामा नै ममत्व पाउन सक्छन् भन्ने सोचेर सासुको जिम्मा लगाएर विदेशिएको थिएँ ।

प्रवासको लामो बसाईको ११ बर्षपछि नेपाल फर्किएर अब उनीहरुको सात्विक कर्म पुरा गरिदिने तात्विक सोच बनाएर छोराछोरीलाई लिन म ससुराली तिर लागेँ । नेपाल बन्दको कारणले गर्दा म त्यो दिन बुटवलको गेष्टहाउसमा बस्न बाध्य भएँ । राति १ बजेको हुँदो हो मेरो ढोकामा ढक ढक गर्दै ढोका खोल्नु न अंकल, मलाई बचाउनुहोस् अंकल, भन्दै एउटा नारी चित्कारले अनुनय गर्दै गहिरो निन्द्रामा सुतेको मेरो तन्द्रा भंग हुन पुग्यो । मैले पनि शनै शनै ढोका खोलेर यथार्थ के हो बुझेर आफुबाट सम्भव भए उनको हिताय केहि सहयोग गर्ने सोचेर ढोका खोलिदिएँ । उनी हुर्रिएर भित्र पस्दै ढोकाको चुकुल लगाएर मेरो छातिमा आएर लिपिक्क टाँसिएर यथार्थ बताइन् ।

ति नारी पात्र तिनै थिइन् जसले केहि घन्टा अघिमात्र मेरो सुत्ने विछ्यौनाको तकियाको खोल तथा सफा तन्ना बदलिदिएर मेरो लागि सुत्न योग्य बनाएकी थिइन् । मच्छडधुप, मैनबत्ती र एक जग पानी ल्याएर टि टेबुलमा राखिदिँदै राति केहि आवश्यकता पर्यो भने १२ बजे सम्म गेष्टहाउसको सुविधा प्राप्त हुने बताउँदै रिसेप्सनको १०१ नम्बर इन्टरकममा डायल गर्न सिकाएर गइन् । उमेरगत हिसावमा उपस्थित हुनुपर्ने नारी चाञ्चल्यता उनीमा रत्तिभर थिएन । साँझमा खाना खाने समयमा पनि उनीले नै मलाई आतिथ्य सत्कार गरेकी थिइन् । ति नारीमा उद्बोधित नारी शालिनता देखेर म छक्क परेँ । मेरो लागि मात्र हो कि अरुको लागि पनि हो उनको त्यो शालीन र भद्र व्यवहार, केहि बुझ्न सकिरहेको थिइन । उनी त्यो होटलको नितान्त जागीरे कर्मचारी मात्र बनेर मेरो सामु प्रस्तुत भएकी थिइन् । अरुहरुले गर्ने जस्तो ग्राहकहरुप्रतिको कामुकतापनाको छनक उनको चेहरामा एकरत्ति पनि आवाद थिएनन् ।

उनको घर र थर सोधेर उनको जानकारी लिने इच्छाले मलाई व्यग्र बनाएपछि उनको नाम, थर र घर सोधेँ । “तपाईं बर्ष दिनमा एकदिन मात्र यो बाटो हिँड्ने बटुवा र शायदै अब यो होटलमा तपाईं आएर बस्नु हुनेछैन । बस्न आईहाल्नुभयो भने पनि त्यो समयमा म यहाँ नहुन पनि सक्छु । मेरो बारेमा मेरो यथार्थता जानेर तपाईंलाई के पो मिल्छ र ? कुनै दिन समय मिल्यो र फेरि यहि होटलमा बस्न आउनुभयो भने फुर्सद निकालेर बताउँला नि” भनेर उनी आफ्नो काममा लीन रहेकी थिइन् । त्यसपछि उनी भित्र कुनै गम्भीर रहस्य र होटलमा आएर काम गर्नुपर्दाको विवशता लुकेको हुनुपर्छ भन्ने सोच्दै पत्रिकालाई एक दिनको खुराक जुट्ने भो भन्ने आशा लिएर भोलि विहानको लागि उनीसंगको भलाकुसारीको लागि प्रतिक्षित थिएँ । त्यसरात स्थानीय बदचलन गुण्डाहरुले मदहोशी अवस्थामा उनलाई हातपात गर्न खोजेपछि त्यस मध्यरातमा मेरो शरणमा आएको थिइन् ।

“तिम्रो नाम ?” नाम सोध्ने वित्तिकै आँखामा आक्रोश आवाद गर्दै बोलिन् “मूल्याहा” । म आश्चर्यचकित हुँदै उनको कुरालाई नोट गर्दै गएँ । “मेरो खास घर चितवन हो । म २२ दिनको हुँदा मूल्याहा परेको उद्घोष गर्दै मलाई बाबु आमाको काखबाट छुटाएर मामा घरमा ल्याएर राखिएको रे । अहिले २२ बर्ष बित्दैछ मेरो बाउ आमाको अत्तोपत्तो नभएको । मामाघरमा पनि मेरो कोहि छैनन् । सन्धिखर्कको भिडन्तमा हजुरबुवा र हजुरआमाको आफ्नै घर भित्र एकै चिहान भयो । भाईलाई भिडन्तबाट बचेखुचेका नेपाली सेनाहरुले माओवादी लडाकुलाई आश्रय दिएको भन्दै जिउँदै गायव बनाए भने मलाई माओवादी लडाकु दस्ताले अपहरण गरी अर्घाखाँचीको हंसपुर पुर्याए । त्यस अपहरणबाट भाग्न सफल भएपछि म यहि होटलमा काम गर्दै आएकी छु । मेरो परिचय र मेरो जीवनकथा यत्ति मात्र हो अंकल । ” लेख्न लालायित भएको मेरो कलम लुलो भयो र शरीर अस्थिर हुँदै भाउन्न छुट्न थाल्यो । मैले “छोरी !” भनेर चिच्याएर उनलाई अंगालोमा बेरेर उनको टाउको सुम्सुम्याउँदै पितृ ममत्व खन्याईरहेँ । गेष्टहाउसमा गुजारेको त्यस रातभरि बाउ सरहको अभिभावक सम्झिएर डरले कंपित हुँदै मलाई अंगालो मारेर म संग ढुक्क संग सुत्ने अरु कोहि नभएर मूल्याहा भनेर परित्यक्ता मेरी त्यहि हुकुली छोरी नै थिई ।
रवि भट्ट “रोषी
रत्ननगर  चितवन
हाल:दोहा कतार 

Posted by Masti Entertainment on 1:00 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for मूल्याहा छोरी (कथा)

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011