शहिदलाई भेट्दा
प्रेम ओली
कविता
एक दिन
सहिदलाई भेट्न
गए सहिद गेट
चारै जना रहेछन
भयो चारैसङ्ग भेट
मैले नमस्कार ठोक्दै भने
सहिदज्यू
के छ हाल चाल ?
एक सहिदले भने
हामी त
घाम भए पनि
चिसो भए पनि
झरे पनि झरी
बित्दछ हरेक काल
कुनै आच्छु नगरि
के सोध्छौ हाम्रो हाल
के सोध्छौ हाम्रो चाल
हेर मनुवा
बरु ठीक छैन नि तिम्रो चाल ?
हामी बाचेर मरेका
मरेर फेरि बाचेका
देख्दैछौं मान्छेहरु
मान्छे भएर पनि
किन बाँदर भै नाचेका ?
छिमेकिले बजाउदा ढोल
किन कम्मर तिमीले भाचेका ?
देश जनता लुट्दै
कस्को लागि धन साचेका ?
बेच्दै हाम्रा सपनाहरु
नअङ्कुराउदै किन भाचेका ?
मान्छेहरु किन यसरी
कोही कुर्सीमा नै टास्सीएका
कोही भ्रष्ट भई भास्सिएका !!
हामीले
गिर्जा बाउ आउँदा
प्रचन्ड पनि आउँदा
प्रस्टसङ्ग भनेका थियौ
यो सब बेठिक छ
बचन दिएर गए पछी
खै कस्को बचन यहाँ टिक्छ ?
सहिदको कुरो खरो छ
तर सोर्है आना दरो छ
म जिउदो भएर पनि
एक छिन त मुर्ती भए
मान्छेले चपाएर फाल्ने
दुर्गान्धित सुर्ती भए
मौनातालाई भङ्ग गर्दै
त्रिभुवन बोले
ढेडोलाई निस्तै
जती भने पनि
यी जिउदा यस्तै
आफ्नो दुखेसो खोले
तिमीलाई
सलाम ठोक्नु हुन्थ्यो
दुई हातले ढोक्नु हुन्थ्यो
तर कसरी गर्ने यो ?
यी जिउदाहरुले
शाहीदको पगडी थमाइदिए
आफु त गब्बर सिंह रहेछन
हामीलाई पनि
सोलेको फिल्मको ठाकुर बनाइदिए ।