'साँच्चै मेरो देश यस्ती देखिन्छे '
गद्दय कविता
बिना तामाङ 'सुनगाभा'
आजभोली मेरो देश
एक्ली एक्ली भएकीछिन्
कस्ती कस्ती भएकीछिन्
खै कस्तो भनौं
मानौं सिदुंर पोते बिनाको
सौभाग्यवती नारी भएकीछिन्
मेरो देश
प्रकृतिका अनुपम छटाँहरुले
तराईका मस्त बैशाँलु फाँटहरुले
हिमालका चुलिएका शिखरहरुले
पहाडका सुन्दर थुम्काहरुले
अनि विशाल अविछिन्न नदीहरुले
सिंचिएको भएपनि ,लिपिएको भएपनि
खै किन हो किन?
कता हो कता
के नपुगे जस्तो देखिएकीछिन्
मानौ सिंदुर पोते बिनाको
सौभाग्यवती नारी भएकीछिन्
सायद मायाले रङ्गाउनुपर्ने सन्ततीले
मेरो देशको माटोको रङ्ग उडाएकोछ
स्वच्छ,निर्मल गंगाहरुको सौदा गरेको छ
व्यक्तिगत स्वार्थमा लिप्त भैइ
मेरो देशको अस्मिता बेचेको छ
कतै मुटुमा सिमाङ्कनका खम्बा गाडेकोछ
गरिबी,अशिक्षा ,रोग,भोकबाट
अलग राख्नु त कता हो कता
झन् झन् ग्रस्त पारेकाछन्
त्यसैले होला मेरो देश
आजभोली यस्ती भएकीछिन्
मानौ सिंदुर पोते बिनाको
सौभाग्यवती नारी भएकीछिन्
आउ अब हामी मिलौं
आस्थाका रङ्गहरु पोतौं
आशाका फरिया र चोली लगाईदिउँ
कर्तव्य र एकताका पोते उनिदिउँ
विकासका सिंदुर भरिदिउँ
चिटिक्क परेको शान्तीको
बिन्दिया माथमा लगाईदिउँ
सहकार्यका हातले कपाल बाँटिदिउँ
प्रेमका गाँजल दलिदिउँ
अनि हेरौं त
कस्ती देखिन्छिन्
पक्कै पनि मेरो देश
सुन्दर देखिन्छिन्
शालिन देखिन्छिन्
खुसी देखिन्छिन्
बैशाँलु देखिन्छिन्
उन्मुक्त देखिन्छिन्
यस्ती देखिन्छे
मानौं भर्खरै गृह्प्रवेश गरेकी
नव दुलही हुन्
भर्खरै सुहागरात मनाएकी
लजावती वधु हुन्
वर्षा पछिको आकाशमा
खुलेकी इन्द्रेणी हुन्
साँच्चै मेरो देश यस्ती देखिन्छे
काठमाण्डौं
